६ असार, काठमाडौ । नेपाली समयअनुसार आज राती ९ः४५ मा इटली र वेल्स भिड्दैछ ।

यो खेल इटलीको राजधानी रोममा हुनेछ, युरोकपका सुरुवाती दुई खेल जितेको इटलीले दोस्रो चरणको यात्रा पक्का गरिसकेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यो उसको लगातारको १० औं जित हो । त्यस्तै, पछिल्ला ३० खेलदेखि इटली अपराजित छ ।

यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक बटुलेको छ । त्यसैले समूह एमा वेल्स दोस्रो स्थानमा छ । स्विचरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको हो । त्यसैले आजको खेलमा इटलीलाई हराएर समूह विजेता बन्ने ध्याउन्नमा वेल्स हुनेछ, बराबरीले उसलाई समूहमा दोस्रो बनाउनेछ । इटलीसँग पराजित नै भएपनि तेस्रो स्थानका उत्कृष्ट टोलीहरुको सुचीमा परेर वेल्सले अन्तिम १६ को चरणको यात्रा गर्नसक्छ ।

युरोकपमा प्रत्येक ६ समूहमध्ये शीर्ष र दोस्रो स्थानमा रहने १२ टिममात्र नभएर तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा छनोट हुन्छन् ।

इटलीका प्रशिक्षक रोबर्टो म्यान्सिनीले पहिलो र दोस्रो खेलमा एकजना मात्रै खेलाडी परिवर्तन गरे । घाइते अलेस्यान्द्रो फ्लोरेन्जीको साटो गियोभानी डि लोरेन्जोलाई मैदान पठाए । तर आज उनले टोलीमा ठूलो परिवर्तन गर्नसक्छन् ।