१२ असार ,काठमाडौ । युरोकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आज वेल्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।

नेदरल्यान्डस्को अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ । वेल्सले कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो तेस्रोपटक हो ।

१९५८ को विश्वकपमा ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको वेल्सले त्यसयता ठूला प्रतियोगिताको नकआउट चरण खेल्न अर्को ५८ वर्ष कुर्नुप(यो । पछिल्लोपटक सन् २०१६ को युरोकपमा वेल्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

‘हामी युद्धका लागि तयार छौं किनकी यो युद्ध हुनेवाला छ,’ वेल्सका प्रशिक्षक रोबर्ट पेजले भने ।

जारी प्रतियोगिताको समूह चरणमा स्विचरल्यान्ड बराबरीमा रोकिएको वेल्सले टर्कीलाई हरायो भने इटालीसँग पराजित भयो । यता, समूह चरणमा सुरुवाती दुई खेल हारेको डेनमार्क अन्तिम खेलमा रुसविरुद्ध सनसनीपूर्ण ढंगले ४–१ को जित निकाल्दै दोस्रो चरणमा आइपुगेको हो ।

इटलीविरुद्धको समूह चरणको अन्तिम खेलमा रातो कार्ड खाएका कारण इथान अम्पाडु आजको खेलमा वेल्सका लागि उपलब्ध हुनेछैनन् । यसबाहेक अन्इ सबै खेलाडी फिट अवस्थामा छन् । इटलीविरुद्धको खेलमा प्रशिक्षक पेजले स्ट्राइकर किफर मुर, डिफेन्डरहरु विन डेनिस र क्रिस मेपहामलाई सुरुवाती लाईनअपमा खेलाएका थिएनन् ।