१८ असार ,काठमाडौ । नारायणगढ-मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ ;३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
डुम्रे-वेशीशहर सडकखण्ड अवरुद्ध
दमौली-पहिरोका कारण तनहुँको डुम्रे(बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका-१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ ।
बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
“हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ”, उनले भने, “ठूलो पहिरो खसेकाले हटाउन चाररपाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।”
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । “बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुनसकेको छैन”, प्रनाउ तिमिल्सिनाले भने ।
पहिरोले लागेर दुई घाइते
यसैबीच तनहुँको भानु नगरपालिका-८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् । दुवै जना बेँसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ ।