२० भाद्र ,काठमाडौ । लमजुङ सदरमुकाम बेंसीशहर बजारमा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
बेंसीशहर नगरपालिका ८, शेरा बस्ने २७ वर्षिया सुजा घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उनको साथबाट प्रहरीले रानीहार थान–१, सुनको वाला थान २, सुनको रातो पत्थर जडित औंठी थान २, सुनको औठी थान २, सुनको सिक्री थान १, सुनको मिनीहार थान १, सुनको टप थान ४,सुनको पत्थर जडित टप थान २, सुनको गणेशको मुर्ती लकेट थान १, सुनको झुम्का थान २ बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार गत बैशाख २५ गते बेंसीशहर नगरपालिका ८ क्याम्पस रोड र गत साउन ३० गते बेंसीशहर नगरपालिका ८ को न्यू ईरा बोर्डिङ स्कुल नजिकै बाट करिव २३ तोला बराबरको सुनका विभिन्न गरगहनाहरु चोरी भई पछिल्लो समय चोरी घटनाहरु बढ्दै गएकोमा सुक्ष्म अनुसन्धान थालिएको थियो ।
चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास एवं शंकित व्यक्तिहरुमाथि निगरानी राखी सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न घिमिरेलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत एवं सूचना अधिकारी बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।
प्रहरीका अनुसार क्याम्पस रोडको गंगा र जमुना दिदीबहिनीको र न्यु ईरा बोर्डिङ स्कुल नजिकै बालकुमारी घिमिरेको घरबाट सुन चोरी भएको उजुरी परेको थियो । उजुरीलाई आधार मानेर सुक्ष्म अनुसन्धान गर्दै जाने क्रममा घिमिरेविरुद्धको प्रमाणहरु जुटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई निज उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


