२६ आषाढ ,काठमाडौ । शनिबार दिउँसो २ बजे आसपास काठमाडौंको केही ठाउँमा परेको निकै ठुलो पानीले सडक ,गल्ली भरिदा जनजीवन केही समय प्रभावित भयो । 

गल्लीमा भरिएको पानीले घरको ढोकामा पनि जलमग्न भएर बाहिर भित्र गर्न असहज भयो ।यस्तै नयाँ बानेश्वर, तिनकुने, शान्तिनगर लगायतका केही क्षेत्रमा तीन घण्टा जति सडक नै अबरुद्ध भयो केही सवारीसाधन पानीमै डुबे ।

वर्षाले गर्दा काठमाडौँको अनामनगर र घट्टेकुलो जलमग्न भयो । अनामनगरको घट्टेकुलो, अनामनगर, डिल्लीबजार, मैतीदेवी लगायतका क्षेत्रका भित्री गल्ली जलमग्न भएपछि स्थानीय केही समय आत्तिएका थिए ।

सडक विभागको काममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरिक्षक रामकृष्ण देवकोटाको नेतृत्वमा ट्राफिक प्रहरीहरु तिनकुनेको अबरुद्ध सडक खुलाउन पानी पानी काम गरिरहेका थिए ।लगातार पाँच घण्टा जति काम गरेपछि जलमग्न सडकको पानी कम भयो । अनि साँझ उक्त क्षेत्रको सडक सुचारु भयो ।ट्राफिक प्रहरीले फसेका दर्जन बढि सवारीसाधनको समेत उद्वार गरेको थियोे ।

यतिबेला सम्म न सडक विभाग देखियो त्यो क्षेत्रमा न महानगरपालिका देखियो रु सामान्यतया अरु कारणले सडक अबरुद्ध भएपछि अबरोध हटाएर सडक सुचारु गर्नुपर्ने काम सडक विभाग ,तथा स्थानीय सरकारको हो ।तर अधिकांश अवस्थामा अबरुद्ध सडक खुलाउन यसरी नै ट्राफिक प्रहरीले श्रमदान गरिरहेका हुन्छन् ।आज त्यस्तै दृश्य थियोे तिनकुने आसपासमा ।

त्यहा ट्राफिक प्रहरी हातमा विभिन्न सामाग्री लिएर जलमग्न सडक खुलाउन काममा ब्यस्त थिए ।क्षणभरमै ताल बनेको सडक खुलाउन ट्राफिकहरु पानी पानी काम गरिरहदा सडक विभाग र स्थानीय सरकार बेखबर हुनु गैरजिम्मेवारीको पराकाष्ठा नै हो ।

राजधानी जस्तो व्यस्त शहरको सडक पानी भरिएर यातायात अबरुद्ध हुनु आफैंमा लाजमर्दो विषय भएको उक्त क्षेत्रमा यात्रा गरिरहेका यात्रुहरु गुनासो गरिरहेका थिए ।काठमाडौका धेरै सडक अलिकति पानी परेपनि जलमग्न हुन्छन् ।जथाभावीको ढल सडकमा जम्मा भएर यातायात प्रभावित हुन्छ ।तर त्यो खुलाउने काम ट्राफिक प्रहरीले गर्छ ।