.सागर थापा
२२ साउन , काठमाडौ । भालुवाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ ।

बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड नहुँदा बजार क्षेत्रका स्थानीय तथा व्यापारीले फोहोरलाई सिधै राप्ती पुलबाट नदीमा फाल्ने गरेका कारण बजार क्षेत्र दुर्गन्धित हुँदै जान थालेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेशद्धारमै फोहोरको डुंगुर थुप्रिदै जाँदा बजारको स्वरुप समेत बिग्रिदै जान थालेको छ ।

भालुवाङ बजार सहित लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ लगायत बजार क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । हुन त फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले भेला, छलफल नगरेको होइन । तर फोहोर व्यवस्थापनका लागि चाहिने मुख्य समस्यानै जग्गा रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको भनाई रहेको छ ।

शुक्रवार दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा होटल पौवाको सहकार्यमा आशाका किरण संस्थाले आयोजना गरेको फोहोर व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुवेदीले सार्वजनिक जग्गा नभएकै कारण फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष सुवेदीले स्थानीय सामुदायिक वनले जग्गा उपलब्ध नगराउँदा र यहाँका स्थानीयहरुको अहम्कारीताले गर्दा फोहोर व्यवस्थापनमा समस्या आएका बताएका छन् ।
संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका महासचिव नारायण शर्मा, बातावारणप्रेमी होमप्रसाद शर्मा, विपी खनाल, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, प्रगतीनगर तेस्रो शहरी खानेपानी आयोजना सिसहनियाँका अध्यक्ष शान्तराज शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल, पत्रकार जमिर शाहा लगायतका वक्राहरुले आ आफ्नो भनाई राखेका थिए ।
पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रम सुरु हुनु भन्दा पहिला राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, संघ संस्थाका प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको टोलीले भालुवाङ बजार र राप्ती नदीमा फालिएको फोहोरको स्थलगत अवलोकन समेत गरेका थिए ।





