२८ साउन ,काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।
‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन ।’
केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्रतिनिधि सभा विघटन गल्ती थियो, भनेमात्रै एकताको सम्भावना रहने बताए ।
केपी ओलीले माधव नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको कुरा फिर्ता लिएपछि वार्ताको वातावरण बन्छ’, गौतमले भने, ‘तर केपी ओली त्यो फिर्ता लिन तयार हुनुहुन्न ।’
आफूले ओलीले माधव नेपालमाथि लगाएको आरोपबारे बैठकमै बोलेको भन्दै त्यसरी बोल्न पाइने भए विधानमै राखौं नत्र त्यस्तो अभिव्यक्ति फिर्ता गर्न सुझाव दिएको बताए । ‘मैले त बैठकमै भनेको हो–के त्यसरी बोल्न पाइन्छ रु यदि पाइन्छ भने विधानमै लेखौँ,पाइँदैन भने किन भन्ने रु फिर्ता लिनुस् भनेको हो’, नेता गौतमको भनाइ छ ।
नेता गौतमले ओलीले गल्ती महशुस गरेपछि माधव नेपालले पनि शेरबहादुर देउवालाई समर्थन गर्नु गल्ती थियो भनेर भन्न नसक्नु नै समस्याको गाँठो रहेको पनि बताए । त्यसो भएमात्रै वार्ता प्रक्रिया अघि बढ्ने र पार्टी एकताको सम्भावना रहने आफ्नो विश्लेषण रहेको गौतमको भनाइ छ ।
प्रतिनिधि सभा विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको पुष्टि भैसकेको गौतम बताउँछन् ।
‘बारबार प्रतिनिधि सभा भंग गरेको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भन्दियो । दुईपटक नै सर्वोच्चले यस्तो भनेपछि यो कुरा उहाँले स्वीकार गर्नुपर्दथ्यो । सर्वोच्चले असंवैधानिक भनेपछि त व्यक्तिले गलत गरेको मान्नैपर्छ’, गौतमले दुवै नेताले आ–आफ्नो गल्ती नस्वीकार्दासम्म वार्ताको औपचारिक प्रक्रिया नै अघि बढ्न नसक्ने बताए ।
तर, ओली र नेपालबाहेकका दुवै पक्षका केही नेता भने पार्टी एकताका लागि भन्दै निरन्तर प्रयास गरिरहेका छन् । उनीहरुको यो प्रयासले पार्टी एकता हुन्छ भन्नेमा ओली र नेपाल दुवै विश्वस्त छैनन् ।





