२९ वैशाख, काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठन बारेमा ट्वीटरमा जानकारी दिएका छन् ।
उनले यस सम्बन्धमा ट्वीट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दाहरू समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ ।’
उनले यसै साताभित्र संसद्मा बहुमत हासिल गर्ने र जनताको विश्वास हासिल गर्न सक्षम प्रधानमन्त्री नियुक्त गर्ने बताएका छन् ।
गोटाबायाले ट्वीट गर्दै भनेका छन्, ‘नयाँ सरकारलाई नयाँ कार्यक्रम प्रस्तुत गर्ने मौका दिइनेछ र देशलाई आफ्नो नीतिका साथ अगाडि बढाउने अधिकार दिइनेछ ।’
‘यसबाहेक संसदलाई थप सशक्त बनाउन संविधान संशोधनको पहल गरिनेछ । साथै कार्यकारी अध्यक्षको पद खारेज गर्ने सुझावमाथि पनि विचार गरिनेछ ।’
यस सम्बन्धमा गोटाबायाले आफ्नो अन्तिम ट्विटमा लेखेका छन्, ‘म विनम्रतापूर्वक जनताको जीवन र उनीहरुको सम्पत्तिको रक्षाका लागि तपाईंहरु सबैसँग मद्दतको अनुरोध गर्छु ।’
1/4
Steps will be taken to form a new gov to prevent the country falling into anarchy & to maintain the affairs of the state that have come to a halt.A PM who commands majority in Parliament & is able to secure the confidence of the people will be appointed within this week.
— Gotabaya Rajapaksa (@GotabayaR) May 12, 2022
राष्ट्रपति गोटाबायाको यो ट्विट श्रीलङ्काले गम्भीर चुनौतीको सामना गरिरहेको बेला आएको हो ।
मुलुक पहिलेदेखि नै आर्थिक सङ्कटमा गुज्रिरहेको भए पनि सोमबार देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि मुलुक राजनीतिक सङ्कटमा पनि परेको छ ।
आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । देशैभरि फैलिएको हिंसाका क्रममा भएको गोलीकाण्डमा वर्तमान सांसदसहित पाँच जनाको ज्यान गएको छ ।
आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्कामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिनु एक्कासी भने होइन । यसको अनुमान धेरै पहिलेदेखि नै भइरहेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षेले महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरेका थिए ।






