
१५ असोज ,काठमाडौ । बहुविवाह मुद्दामा फरार खजुरा गाउँपालिका-२ उदरापुर बस्ने २१ वर्षीया विना कुमारी खटिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२६ वर्षीया विना कुमारी खटिक
जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय भई फरार रहेका उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी, अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्ने छित्ता भन्ने २४ वर्षीय अर्जुन बिकलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

तत्काल १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका-१० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी समेत गरी फरार भएको घटना अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई काठमाडौंस्थित तिनकुनेबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार ४ जना अभियुक्तलाई घटनाको १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी नगरपालिका-६ जाली बस्ने ३५ वर्षीय सियाराम चौधरी, सोही ठाउँ बस्ने टेकुवा भन्ने ३३ वर्षीय टिकाराम चौधरी, सुनिल भन्ने ३१ वर्षीय कालुराम कुमाल र ३३ वर्षीय तारा प्रसाद चौधरी रहेका छन् । २०६२ साउन ११ गते राति धनगढी नगरपालिका-६ जाली गाउँ बस्ने २५ वर्षीय दुःखराम चौधरी घरबाट हराई बेपता भएकोमा १२ गते बिहान धानको खेतबारीमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनाको थप अनुसन्धान गर्नका लागि खटिएको प्रहरीले घटनामा संलग्न सियाराम, टिकाराम, कालुरामलाई धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट गत पुस १७ गते र तारालाई माघ ६ गते कालीकोटबाट पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








