
२६ कात्तिक,काठमाडौ । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई आयआर्जनमा सघाउन हेटौंडा उपमहानगरपालिकाले पहल गर्ने भएको छ ।

उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा संलग्न निम्न आय भएका नागरिकहरुको आर्थिक अवस्था सुधार्दै उद्यमशील बनाउन अघि बढाउने उद्देश्यका साथ योजनाहरु प्रस्तुत गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकालाई केन्द्रीत गर्दै उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा उद्योगतर्फ विभिन्न योजनाहरुमा बजेट विनियोजन गरी उद्यमशीलतामा जोड्दै आयआर्जन वृद्धिका लागि कार्यक्रम प्रस्तुत गरेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा तालिमप्राप्त नागरिकहरुको लागि ढाका उत्पादन कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय स्तरमा ढाकाको उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ढाका उद्योगमा भविष्य खोज्दै गरेका तर आर्थिक अभाव भोग्दै आएका उद्यमीहरूलाई उक्त कार्यक्रम महत्वपूर्ण हुने मेयर महतको विश्वास छ । उपमहानगरपालिकाले यसका लागि दश लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी, महिला उद्यमीहरुको लागि उपमहानगरपालिकाले उत्पादन बजारीकरण बिक्री केन्द्र सहयोग कार्यक्रम प्रस्तुत गरेको मेयर महतले जनाए । यसका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै यसै आर्थिक वर्षमा उपमहानगरपालिकाले महिला जागरण समूहमार्फत् उत्पादन भएका उद्यमीको आयआर्जन सहयोग कार्यक्रम, साना उद्यम विकास सहयोग कार्यक्रम, गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार आवश्यकताका आधारमा आधारभूत पुनर्ताजगी र एड्भान्स सीप विकास तालिम सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।





