
३० कात्तिक, काठमाडौ । प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ । महाधिवेशन मिति नजिकिँदै जाँदा आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन् भन्ने चर्चा समेत सुरु भएको छ ।

नेतृत्वमा आन्तरिक जोड घटाउ भइरहे पनि बाहिर भने खुलेर आफूले चाहेको पद ‘यही हो’ भन्न सक्ने अवस्थामा नेताहरु भने पुगिसकेका छैनन् । यो महाधिवेशन ‘सहमतिको महाधिवेशन’ बनाउने अध्यक्ष केपी ओलीलगायतका नेताहरुको चाहनाका कारण पनि नेताहरु आफुलाई मन लागेको पदमा उम्मेदवारी घोषणा गर्न सकिरहेका छैनन् ।

महाधिवेशनमार्फत पुनः अध्यक्षमा ओली नै दोहोरिने निश्चित भइसके पनि अध्यक्ष बाहेकका अन्य १४ केन्द्रीय पदाधिकारी पदमा को–को नेता आउने हुन् भन्ने चासो एमाले वृत्तमा बढ्दै गएको छ । वडादेखि पालिका र महाधिवेशन प्रतिनिधिसमेत सहमतिमा चयन गरेको एमालेले दशौं महाधिवेशन पनि सहमतिमै गरेर पार्टी एकताको सन्देश दिने बताउदै आएको छ । पार्टी विभाजनको पीडा भएर पनि त्यसलाई बिर्सन र परिपूर्ति गर्न देखावटी एकता देखाउन पनि सहमतिमा नेतृत्व छनोट गर्नुपर्ने एमालेमा बाध्यतामा छ ।
तर, नेतृत्वमा आकांक्षी धेरै हुने भएपछि उनीहरुको व्यवस्थापन गर्न उतिकै चुनौति रहेको नेताहरुको बुझाइ छ । यो महाधिवेशनमा केन्द्रीय पदाधिकारीको आकांक्षा राख्ने धेरैजसो नेताहरु यसअघिको महाधिवेशनमार्फत नै पदाधिकारी भैसकेका छन् । र, उनीहरुले अहिलेको पदभन्दा माथिल्लो पदको आकांक्षा राख्नु स्वभाविक पनि मानिन्छ ।
त्यतिमात्रै होइन, अन्य पार्टीबाट आएका नेताहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने र पार्टीमा लामो समय काम गरेकालाई पनि अवसर दिनुपर्ने बाध्यता एमालेमा छ । यस्तो अवस्थामा १५ पदाधिकारीका लागि झण्डै दोव्वरको संख्यामा आकांक्षीहरु मैदानमा छन् । मैदानमा भएपनि उनीहरुले सार्वजनिक रुपमा मुख भने खोलिसकेका छैनन् ।
एमालेले गत असोजमा विधान परिवर्तन गरेर पहिलाको पदाधिकारी पदमा केही हेरफेर गरेको छ । यद्यपि संख्या भने उत्तिकै छ ।






