
१३ मंसिर ,काठमाडौ । नेकपा (एमाले)दशौं महाधिवेशनमा सोमबार साँझ ९ बजेदेखि सर्वसम्मत हुन नसकेका पदाधिकारी र केन्द्रीय सदस्य पदमा निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

एमालेको पदाधिकारीमा पूर्वमाओवादीबाट आएका नेताहरू उम्मेदवार बनेका पदमा निर्वाचन हुने भएको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग भीमबहादुर रावलले प्रतिस्पर्धा गर्ने भएका छन् । ओलीले सर्वसम्मत अध्यक्ष बन्नका लागि गरेका प्रयासलाई असफल बनाउँदै रावलले महाधिवशेनलाई मतदानसम्म तन्काएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन् । ६ उपाध्यक्षमा पूर्वमाओवादीका रामबहादुर थापा पनि उम्मेदवार छन् ।

ओलीले गएराति उपाध्यक्षमा थापासँगै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका थिए । तर, उपाध्यक्षमा घनश्याम भुसालले ओलीको प्रस्तावमा ुबागीु बनेर उम्मेदवारी दाखिला गरेका छन् ।
त्यस्तै, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालविरुद्ध कसैले उम्मेदवारी दिएन । र त्यसमा चुनाव हुने छैन । पूर्वमाओवादी नेताहरू उम्मेदवार बनेको सचिव पदमा भने चुनाव हुने भएको छ ।
सचिवमा ओलीले टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए । सचिवमा उम्मेदवारी दिएका भट्ट र रायमाझी पूर्वमाओवादी हुन् । यी नामलाई प्रतिनिधिहरूले ताली पिटेर ुपारितु गरेको थियो । तर, सचिवमा थप दुई नेताको उम्मेदवारी परेको छ । सचिवमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएका छन् । यी दुई नेताले पनि ओलीको प्रस्तावमा बागीु उम्मेदवारी दिएका हुन् ।
एमाले महाधिवेशनमा ओलीबाहेक पदाधिकारीमा माओवादी पृष्ठभूमिका नेताहरू उम्मेदवार भएको पदमा मात्रै निर्वाचन हुनुलाई चासोका साथ हेरिएको छ । माओवादी पृष्ठभूमिका नेताहरूलाई एमालेले कसरी मत दिन्छ वा स्वीकार्छ भन्ने यो निर्वाचनबाट देखिने नेताहरूले बताएका छन् ।






