२ पुष काठमाडौै । मानव बेचबिखन पीडित प्रभावित व्यक्तिहरूको व्यवस्थित उद्धार तथा फिर्तिका लागि कार्यविधि बन्नुपर्नेमा जोड दिइएको छ ।
बैदेशिक रोजगारी वा अन्य कारणले विभिन्न देशमा अलपत्र परेका वयस्क एवं बालबालिकालाई उद्धार गर्दै आएका संस्थाका प्रतिनिधीहरुले उक्त कार्यविधि नहुँदा उद्धारका लागि धेरै समस्या भएको बताएका हुन् ।
महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समुह नेपाल (एटविन) द्वारा राजधानीमा आयोजित कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाँया गुरूङले राज्यका विभिन्न निकायलाई उद्धार तथा फिर्तिका लागि बनाएको कार्यविधी हस्तान्तरण गरिसकेको बताउनुभयो ।
उहाँले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारको क्रममा भोगेको समस्याबाट पाठ सिक्दै यहि काम गरिरहेका थुप्रै संस्थाका पदाधिकारीबीच धेरै छलफल गरी बनाइएको ‘नमुना कार्यविधि’मा सरकारी तबरबाट छलफल गरी कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यकारी निर्देशक गुरूङले लुम्बिनी प्रदेशलगायतका भारतसँग सिमा नाका जोडिएका क्षेत्रबाट ललाई, फकाई विदेश पु¥याउन लागेका व्यक्ति, बालक महिलालाई सिमा क्षेत्रमै सोधपुछ गरेर पारी पुग्नबाट बचाउने क्रममा उद्धारकर्ताले भोगेको यथार्थ अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
हाल विभिन्न बहानामा बेचविखन बढिरहेको सन्दर्भमा सरकारले यसको रोकथामका लागि विशेष पहल, निगरानी वा उद्धारमा खटिरहेका स्वयंसेवकहरूलाई तालिम दिने सोच ल्याएको देखिदैन ।
भने कार्यविधि नहुँदा विवेक र समन्वयको भरमा काम गर्नुपर्दा उद्धार र पुनस्थार्पनाको काम गरिरहेका सङ्घ संस्थाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन समस्या भइरहेको सहभागीहरूको भनाई छ ।
एटविनका उपाध्यक्ष तारा भण्डारीले आन्तरीक बेचबिखनको घटना पनि रोजगारी दिलाउने नाममै फष्टाईरहेको तर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी पौरखी नेपालका संस्थापक अध्यक्ष मञ्जु गुरूङले सरकारले नेपाली महिलालाई सुरक्षित राख्ने बहानामा रोजगारीको गन्तव्यमा प्रतिवन्ध लगाउँदा बेचबिखनको समस्या झन् बढेको बताउनुभयो ।
नेपालमा रोजगारी सृजना पनि नगर्ने बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने काम गर्नुको साटो उल्टै जानै नपाउने भनेर प्रतिवन्ध लगाएको छ, कमाएर खान भन्दै भारतको बाटो भएर विदेश जानुपर्दा नेपाली बेचबिखनमा परेको गुरुङले बताउनुभयो ।







