६ पुष काठमाडौ । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् ।
अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।
मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थियो । सोमबार काठमाडौं फर्किएकी श्रेष्ठ एक साताका लागि होम आइसोलेसनमा बसेको मिस नेपाल आयोजक संस्था द हिडेन टेडरले जनाएको छ । प्रतियोगितामा श्रेष्ठ अन्तिम ३० भित्र प्रवेश गर्न भने सफल भएकी थिइन् ।





