१६ पुष काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
आज अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा ईश्वरपुर नगरपालिका-११ का वडाध्यक्ष राम दुलार साहसहित वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
वडाध्यक्षसहित तीन जनाले भलुवाई सडकमा ढलान गरेपछि उपभोक्ता समितिलाई काम सम्पन्न सिफारिस गरेबापत एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएको थियो ।
सो सूचना पाएपछि बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडासदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक २९ गते पक्राउ गरेको थियो ।
अनुसन्धानबाट वडाध्यक्ष साहले पनि घुस मागेको भन्ने पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।






