Comments Add Comment

Advertisment

SKIP THIS

ओलीले भने– बंगाली नवावकै ताल भो मेरो

१६ पुष काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले, पार्टी विभाजन गरेकाले आफ्नो सरकार ढलेको स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आरोप लगाए ।

बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको उनको भनाइ थियो ।आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे । देशमा तीव्र विकास भइरहेकोमा त्यो देख्न नसकेरै विभिन्न शक्तिकेन्द्रले एमाले नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।

‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।

उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे । उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment