Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी नियमावली संशोधनः पदकको अंक ज्येष्ठतामा थपियो, जवानलाई १६ वर्षमा पेन्सन !

२० मंसिर काठमाडौ । सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ । अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ ।

प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।

‘पदक विवादमा आएपछि आईजीपीसा’ब र गृहसचिवको पहलमा नियमावली संशोधन गरेर २ अंक हटाइएको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘यसले गर्दा संगठनलाई धेरै राम्रो हुन्छ ।’

पदकको अंक घटाउँदा तल्लो तहका अधिकृतदेखि विशिष्ट श्रेणीका अधिकृतहरू पदक पाउनका लागि नेताहरूको घरदैलोमा धाउने र उनीहरूको चाकडी गर्ने परम्पराको अन्त्य भएको ती अधिकृतले बताए ।

‘पदकबाट काटिएको २ अंक ज्येष्ठतामा थपिएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसले गर्दा प्रहरीमा पदकका लागि मारामार गर्ने अवस्थाको अन्त्य भएको छ ।’

प्रहरी नियमावली– २०७१ को दफा ३७ को उपदफा २ मा मानपदवी बापत २ अंक पाउने व्यवस्था गरिएको छ । अब त्यो अंक काटिएपछि त्यसबापतको अंक दफा ३० को उपदफा ९२० ९ख० मा ज्येष्ठताबापतको २० अंकमा थपिएको छ । अब ज्येष्ठतामा २२ अंक उपलब्ध हुनेछ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नियमावली संशोधन भइसकेको छ, तर केही प्रावधान थप गर्नुपर्ने भएकाले बाहिर आएको छैन । निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा जवानहरूले १६ वर्षमा पेन्सन पाउने व्यवस्था गराएपछि प्रहरीमा पनि सोही व्यवस्था गर्नुपर्ने माग संगठनभित्र उठेको थियो ।

त्यसैलाई मध्यनजर गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहसचिव टेकनारायण पाण्डेले जवानहरूको पेन्सन १६ वर्षे बनाउन लागेको गृह स्रोतले लोकान्तरलाई बतायो । यो विषयलाई पनि संशोधन गरेपछि एकमुस्ट रूपमा सार्वजनिक गर्ने उद्देश्यका साथ यसअघि गरिएको संशोधनलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment