Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीकै छायाँमा कसरी सम्भव भयो हत्या ? सिसिटिभी फुटेजबाट खुल्यो रहस्य

६ बैशाख, काठमाडौ । चैत्र २७ गते बिहान जब अत्तरियाको दुर्गा मन्दिर वरपर बास बस्नेहरू ब्यूँझिँदै थिए, त्यही बेला मन्दिर परिसरमा एक जनाको रक्ताम्मे शव भेटियो । टाउको फुटेको, अनुहार चिन्न नसकिने, मन्दिरको शान्त वातावरण एकाएक अपराधिकमय बन्यो ।

उक्त शव ३५ वर्षीय जगदीश कैनीको थियो । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका एक बिचल्लीमा परेका मानिस, जो अत्तरियाको सडक पेटीमै दिनरात काट्थे । तर त्यो रात चैत्र २६ गते सामान्य थिएन । सुरुमा उनको शव पहिचान नै भएको थिएन ।

प्रहरीका अनुसार, सधैँझैँ मन्दिरभित्र सुत्न गएका कैनीको मृत्युको कथा मन्दिरकै भित्तामा रगतले लेखिएको थियो । प्रहरीको अनुसन्धानले देखाएको दृश्य झनै झस्काउने खालको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगा बहादुर थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको खुलासा गरे।

हत्या आरोपित हुन् — बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्त बोहरा । उनले आफैंले स्वीकारेका छन्, ‘४ सय रुपैयाँ हरायो, कैनीले चोरे भन्ने लाग्यो, र‘ ढुङ्गा हानें ।’

डीएसपी थापाका अनुसार, मदिराले लठ्ठिएका बोहरा त्यस रात मन्दिरमै सुत्न गएका थिए। तर रातको करिब ९ बजेतिर उनी उठे र आफू सँग भएको ४ सय रुपैयाँ हराएको महसुस गरे । आशंका कैनीतर्फ गयो । सोही रिसमा, मन्दिरमै सुतेका कैनीको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरियो ।

मन्दिरमा जडित सिसिटिभी क्यामेराले घटनाको क्रम पुष्टि गरेको छ । प्रहरीका अनुसार चैत्र २६ गते साँझ ७ः१३ मा बोहरा मन्दिर प्रवेश गर्छन् । ८ः५५ मा कैनी मन्दिर पस्छन् — तर कहिल्यै बाहिर ननिस्कन्छन् । ९ः०८ मा बोहरा बाहिरिन्छन्, र केही समयपछि, ९ः१३ मा फेरि मन्दिर फर्कन्छन् — हातमा मदिरा ।

त्यसपछि के भयो — त्यो मन्दिरको भित्ताले मात्रै देख्यो, र मृत कैनीको शरीरले सह्यो । हत्या गरेर भागेका बोहरा धनगढीको एक होटलमा काम गर्दै बसे । तर अपराधले कहिल्यै छायाँ छोड्दैन । वैशाख ३ गते, उनी अत्तरिया फर्किए र शिविर बस्तीमा डुलिरहेको बेला प्रहरीको निगरानीमा परे । सोही दिन पक्राउ परे। उनी सशस्त्र प्रहरीका भगौडा रहेको खुलेको छ ।

यसअघि अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक अपाङ्ग व्यक्तिले अपराध स्वीकारेका थिए तर प्रमाण अभावमा प्रहरीको अनुसन्धान फेरि नयाँ दिशा लियो र साँचो अपराधी पत्ता लाग्यो ।

जगदीश कैनीको शव मन्दिरको पिँढीबाट तल घिसारेर फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले बिहान पौने ७ बजे खबर पाएको थियो । यद्यपि, मन्दिरको एकवटा प्रवेशद्वार सधैं खुला रहने भएकाले मन्दिरमा सडकमा बस्नेहरू रात बिताउन पुग्ने गरेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेती अगाडि हत्या हुनु सुरक्षा कमजोरीको रुपमा हेरिएको छ । प्रहरी कार्यालयको छेउमै रहेको दुर्गा मन्दिरमा रातको समयमा आपराधिक गतिविधि हुनु स्वयं सुरक्षा संयन्त्रमाथिको गम्भीर प्रहार हो ।

प्रहरीको नियमित गस्ती व्यवस्था, संवेदनशील स्थानहरूमाथिको निगरानी र अपराध रोकथामका उपायहरू सबै असफल भएको स्पष्ट देखिन्छ । चुपचाप घिसारिएको शव, मन्दिरभित्रै भएको हत्या, र त्यसबारे प्रहरीलाई थाहा पाउन बिहान ७ बजेसम्म कुर्नुमा स्थानीय सुरक्षाको स्तरीय अवस्थाबारे गम्भीर चिन्ता पैदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment