२९ मंसिर काठमाडौ । मुलुकको विदेशी मुद्राको सञ्चिति घटेर १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर सञ्चितिमा रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ११.० प्रतिशतले घट्दै १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।




