
२४ पुष , काठमाडौ । ६ मे २०२१ । भारतमा सबैभन्दा कोरोना सङ्क्रमित भेटिएको दिन । त्यस दिन ४ लाख १४ हजार ४ सय ३३ जना नयाँ सङ्क्रमित फेला परेका थिए । २३ मेमा भारतमा कोरोना सङ्क्रमणका कारण ५ हजार ४१ जनाले ज्यान गुमाए । त्यहाँको स्वास्थ्य संयन्त्र नै तहसनहस भएको अवस्थाको त्यो तथ्याङ्क पनि अपर्याप्त भएको तथा थप धेरैको ज्यान गएको हुनसक्ने अनुमान छ ।
यसपछि सङ्क्रमण दरमा ओरालो लागेको भारतमा २० डिसेम्बरको दिन ५ हजार ३ सय २६ जना सङ्क्रमित भेटिए । त्यसै भारतमा सङ्क्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो साता त आश्चर्यजनक रूपमा सङ्क्रमण बढेको छ । २७ डिसेम्बरका दिन ८१ हजार ९०६ जना सक्रिय सङ्क्रमित थिए ।
भारतको अवस्था यो दुई सातामा फेरिएको छ । अहिले १ लाख २२ हजार ८ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । यसै गरी, एकै दिन ३७ हजार ३ सय ७९ जनामा सङ्क्रमण देखिई सकेको छ । यसले भारतमा कोरोनाको अर्को लहरको जोखिम बढेको र तेस्रो लहरको सुरुवात भएको प्रस्ट भइसकेको छ ।
दक्षिण अफ्रिकामा कोरोनाको ओम्रिकोन भेरियन्ट देखिएपछि संसारमा फेरि एकपटक तनाव थपिएको थियो । विगतमा जस्तो हेलचेक्रयाइँ गर्ने सोचमा कुनै पनि देशको नेतृत्व देखिएको थिएन ।
यो भेरियन्ट देखिएसँगै लगातार एकैपटक यात्रा प्रतिबन्ध त धेरै देशमा लगाइयो नै । यसका साथै एकदमै छिटो अध्ययन र अन्वेषण पनि सुरु भएको थियो । सुरुवाती अध्ययनले केही सकारात्मक सन्देश पनि दिएका थिए । यो भेरियन्ट सङ्क्रामक भए पनि कम घातक भन्ने पुष्टि भएपछि यसले धेरैलाई राहत दिएको हो ।
यसका बाबजुद चिकित्सक र वैज्ञानिकहरूले कम घातक भए पनि धेरै नै सङ्क्रामक भएका कारण अस्पतालको चापले थेग्न नसक्ने जोखिम आउने चेतावनी दिइरहेका थिए ।
ओम्रिकोन भेरियन्ट पत्ता लागे यता संसारमा दुई ठूला पर्व मनाइसकिएको छ । क्रिसमसको समाप्ति भएको केही दिनपछि नै अङ्ग्रेजी नयाँ वर्षमा संसार भुलेको थियो ।



