१७ माघ , काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।
भेटका अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक मन्त्री भुसालले धारणा राखे ।
नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाए । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।
राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरीरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने प्रतिवद्धता जनाए ।




