१८ माघ , काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।

भ्रष्टचार निवारण ऐन २०५९ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले सो पदमा नियुक्त भएको ६० दिनभित्र तथा हरेक आर्थिक वर्ष सकिएको दुई महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्छ तर प्रधानमन्त्री तथा मन्त्रीहरूले पदबहाल भएको पाँच महिनासम्म सम्पत्ति विवरण बुझाएका थिएनन् । तर, पछिल्लो समय भने प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाए पनि ती सबै सम्पत्ति विवरण गोप्य राखिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा अन्य केही मन्त्रीहरू आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अनिच्छुक देखिएकाले उनीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरिएको हो । प्रधानमन्त्रीकै निर्देशनअनुसार सम्पत्ति विवरण गोप्य राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयको वेभसाइटमा प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीसहित २५ जनाकै सम्पत्ति विवरण प्राप्त भएको उल्लेख गरिएको छ तर सार्वजनिक गरिएको छैन ।






