२१ माघ , काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अल्मुताइरीलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय भएको थियो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकाले उनलाई शुक्रबार सम्मान गरिएको हो ।





