Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले पाँच वटा कम्पनीको मालिक भन्दै करोडौं ठगी आरोपमा एक जना पक्राउ

२५ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई कपिलवस्तु शिवराज नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको छ् । बागमती प्रदेश ०१-०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको थियो।

Open photo

ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही समयदेखि खोजी सूचीमा राखेको थियो। कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्टमा गत असार १८ गते पोखरेलले ठगी गरेको उजुरी प्रहरीमा पुगेको थियो।

पोखरेलले त्यहाँ पचास हजार बराबरको किराना र कस्मेटिक लगायतको सामान किनेका थिए। कपिलवस्तु विजयनगर गाउँपालिका-४ मा रहेको गौमुखी फिड इण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोप्राइटर बताएर उनले खरिद गरेबापतको बैंक चेक मार्टमा छोडेका थिए।

माछापुच्छ्रे बैंक तौलिहवा शाखाको उक्त चेक साट्न जाँदा खातामा रकम नभएको पाइएपछि मार्ट सञ्चालकले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए। पोखरेल पेशाले कृषि पेशामा संलग्न भन्थे। उनी कन्स्ट्रक्सन कम्पनी पनि चलाउँछु भन्थे। उनी प्युठान तोरवाङ गाउँपालिका-६ भई हाल झिमरुक गाउँपलिका-६ बस्दै आएका थिए।

पोखरेल प्युठान, चितवन, काठमाडौं हुँदै कपिलवस्तुसम्म पुगेको देखिन्छ। उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए।

तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन्। उनले आफू माओवादी नेता जनार्दन शर्मा हो भनेर पनि ठगी गरेको भेटिएको भण्डारीले बताए।पोखरेल विभिन्न समयमा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको खुलेको उनले बताए। डिएसपी भण्डारीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय बुटवलले २०५७ सालमा पहिलोपटक पक्राउ गरेको थियो।

स्थानीय जनतालाई डर त्रास देखाएको कसुरमा उनलाई त्यसबेला सार्वजनिक ऐन अन्तर्गतको मुद्दामा कारबाही भएको थियो। इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले २०६९ पुस १६ गते उनलाई दोस्रोपटक पक्राउ गरेको थियो।

तत्कालीन साइन डेभलेपमेन्ट बैङ्कको केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन उनले ‘म माओवादी नेता जनार्दन शर्मा प्रभाकर हुँ’ भनी ठगेका थिए।कामको सिलसिलामा १र२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै पीडितबाट सात लाख रुपैयाँ ठगेको पाइएको छ,’ भण्डारीले भने, ‘उनी त्यो मुद्दामा जेल चलान भएका थिए।’

यस्तै, पोखरेललाई तेस्रोपटक महानगरीय प्रहरी परिसर काठमाडौंले २०७३ सालमा पक्राउ गरेको थियो। राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी १ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

यस्तै, गत पुस ७ गते बैंक खातामा हुँदै नभएको पचास लाख रुपैयाँको चेक काटेर अर्का व्यक्तिलाई पोखरेलले ठगेका थिए। बैंकमा लिन जाँदा चेक बाउन्स भएपछि उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार २०६४र०६५ सालमा दाङ राप्ती गाउँपालिका वडा(२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनी विभिन्न व्यक्तिहरूबाट एक करोड रुपैयाँ उठाएर पोखरेल बेपत्ता भएको खुल्न आएको छ।२०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनी विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूसँग लाखौं रकम ठगी गरी फरार भएको बुझिन आएको भण्डारीले बताए।

यस्तै, २०७८ सालमा पर्सा जिल्लाको वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङमा गएर आफू गौमुखी फिड इन्डष्ट्रिजको सञ्चालक भनी ४७ लाख बराबरको च्यानल गेट, एङ्गल तथा रड खरिद गरी पैसा नभएको बैंक चेक दिएर फरार भएको खुलेको छ।

यस्तै, गत माघ ५ गते गोयल कम्पनीको बिक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँको सामान लिएर पैसा नभएको बैंक चेक दिएर फरार भएको पाइएको छ।

गत कात्तिक ३० गते पोखरेल नेपाली सेनाको ठेकेदार भन्दै चितवनको टाँडीस्थित रिजाल फुड एन्ड वेभरेज प्रालिमा पुगेका थिए। त्यहाँबाट २८ लाख रुपैयाँको सामान किनेर पैसा नभएको चेक दिई फरार भएको खुलेको छ।

यस्तै, नवलपरासीको समृद्धि स्टिल कम्पनीमा २५ लाख, प्युठान सिमेन्ट कारखानामा २० लाख, गोल्छा अर्गनाइजेसनबाट ३० लाख र काठमाडौं टेकुको निर्मणी मेशिनरी सप्लायर्सबाट एक लाख २७ रुपैयाँ बराबरको सामान लिएर चेक दिई फरार भएको पत्ता लागेको छ।

पोखरेलले ठगी गरेका अन्य थ्रुप्रै व्यक्ति रहेको हुनसक्ने आशंकामा खोजी तथा अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै