२७ माघ , काठमाडौ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो ।
भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ । वितरण केन्द्रले झन्डै ८२ करोड विद्युत् बक्यौता उठाउन बाँकी छ ।
विद्युत उपभोग गर्ने तर लामो समयदेखि महसुल नबुझाएका ग्राहकसँग शुल्क उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । यो शुल्क जरिवानाबाहेकको हो । बक्यौता शुल्क प्राधिकरणले असुल गर्दा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म जरिवाना लिने गरेको छ । महसुल समयमा नतिर्ने धेरैजसो उद्योगी, सरकारी तथा सार्वजनिक निकाय छन् । त्यस्तै घरायसी, सडक बत्ती, होटल, विद्यालय, संस्था, सिँचाइ र खानेपानीलगायतले पनि करोडौ महसुल तिर्न बाँकी छ ।
चालू वर्षको ६ महिनामा मात्रै दुई करोड ९० लाख बक्यौता असुल गरी तीन सय ५७ ग्राहकको विद्युत पुनः जडान गरेको भैरहवा वितरण केन्द्रका लेखा प्रमुख ओमबहादुर दर्लामीले जानकारी दिए । यो अवधिमा मात्रै चार सय १० ग्राहकको विद्युत काटिएको छ, उनीहरूबाटै तीन करोड ५० लाख बक्यौता असुल गर्नुपर्ने छ । अझै ५३ जनाले लाइन काटिएको छ ।
खानेपानी संस्थानको पाँच लाख ११ रुपैयाँ, यातायात चार्जिङ स्टेसन, बसपार्कको ३५ हजार, मन्दिरको सात लाख ७० हजार, अस्थायी बत्ती ६ लाख ६८ हजार, कार्यालयको आन्तरिक खपत १२ लाख ६० हजार, कालोसूचीमा परेका ग्राहकबाट एक करोड ७१ लाख बक्यौता असुल गर्नुपर्ने छ ।
नेपाल विद्युत प्राधिकरणले रिडिङ भएको ६० दिन पछि बिना सूचना विद्युत महसुल नबुझाएका ग्राहकहरूको लाइन जुनसुकै समयमा काट्न सक्ने प्रावधान छ । केन्द्रले बक्यौता रकम र समयको आधारमा ग्राहकहरूको लाइन काट्दै आएको छ ।


