२८ माघ, काठमाडौं । लोकान्तरका विशेष संवाददाता थापा राजनीतिक तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछन् । अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ ।
लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् ।
एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो दलका शीर्ष नेतालाई भेटेर एमसीसी अनुमोदन गर्न भनेकी थिइन् ।
गत मंसिर १–३ मा लू नेपाल आएर सबै दलका नेता र उच्चपदस्थ व्यक्तिहरूसँग एमसीसी अनुमोदनबारे छलफल गरेका थिए । उनै सहायक विदेश मन्त्रीले अहिले ‘अन्तिम चेतावनी’को रूपमा एमसीसी अघि बढाउन भनेका छन् ।


