४ फागुन, काठमाण्डौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले जिल्लाका मदिरा उद्योगमा ‘क्युआर कोड’ सहितको डिजिटल स्टिकर जारी गरेको छ । मदिरा उद्योगीले कर छल्ने तथा नक्कली स्टिकर प्रयोग गरेर राजस्व क्षति हुन नदिन यस्तो व्यवस्था गरेको हो ।
राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले बताए । कार्यालयले मदिरा उद्योगको उत्पादनस्थल र भण्डारण स्थलमा सीसी क्यामरा जडान गरी ती क्यामराको आउटपुट कार्यालय प्रमुखको कार्यकक्षमा बसेर हेर्न मिल्ने बनाएको छ ।
जसले गर्दा उद्योगमा कुन समयमा के काम भइरहेको छ भनने् कुरा राजस्व प्रमुखले सिधै आफ्नै कक्षमा बसेर हेर्न र खबरदारी गर्न सक्ने छन् । त्यो आन्तरिक राजस्व विभागको सिस्टममा समेत सिधै देखिने छ । चितवनमा ७ वटा मदिराजन्य उत्पादन गर्ने उद्योग र ३ वटा सुर्तीजन्य उद्योग रहेका छन् ।
उद्योगमा २४ घण्टा निरीक्षक समेत खटाएको बताउँदै पन्थीले अनुगमनका नाममा नियमित उद्योगमा गएर खबरदारी गरेर अड्कलकै भरमा दोष लगाएर राज्य ठगिस् भन्नु भन्दा पनि प्रविधि मार्फत नियमन गरि ठगी हुनै नदिनका लागी आफुले यस्तो प्रयास थालेको बताए । यसो गर्दा कुनै पनि उद्योगीले एक बोतलमा पनि राजस्व छली गर्न नपाउने उनको भनाई छ ।
खराव नियत भएका राजस्वकै कर्मचारी भएपनि प्रविधि जडान भएपछी उनीहरूले पनि खराव काम गर्न नसक्ने पन्थी बताउँछन् । चितवनमा करिव ७० प्रतिशत राजस्व मदिरा जन्य उद्योगबाट नै प्राप्त हुने गरेको छ ।





