८ फागुन ,काठमाडौं । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकलगायतका स्थानमा असिनाले ढाकेको थियो ।
गुडिरहेका सवारी साधन बाटैमा रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छेहरु ओत खोज्न वाध्य भएका थिए । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ ।
बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ । अचानक परेको असिना पानीका कारण थुपै सवारी साधन बाटोमै रोकिएका थिए । त्यस क्षेत्रमा चार इन्चदेखि एक फुटसम्म असिना जमेको थियो । यसरी असिना परेको पहिलो पटक भएको स्थानीय थम्मन ठकुरीले वताए । असिना पानीले त्यस क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षेती पु-याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसंग जानकारी नदिई यति नै क्षेति भयो भन्न सकिन्न ।’ उनले भने ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्हरुले बताएका छन । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


