१३ फागुन , काठमाडौं । अफगानिस्तानमा सत्तारुढ तालिबानले युक्रेनको स्थितिमाथि बयान जारी गरेको छ । बयानमा अफगानिस्तानले युक्रेनको स्थितिमाथि निगरानी बढाइरहेको र सर्वसाधारणको ज्यान जाने आशंकाले आफूहरु चिन्तित भएको बताएको छ ।
बयानमा भनिएको छ, ‘अफगानिस्तान दुबै पक्षसँग संयमता अपनाउन अपिल गर्दछ । सबै पक्षले हिंसा बढाउने कदम उठाउनबाट जोगिनुपर्छ ।’
अफगानिस्तानले आफ्नो निष्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै आफूहरुले दुबै पक्षलाई कुराकानी र शान्तिपूर्ण माध्यमले संकटको हल गर्न अपिल गरेको बताएको छ । अफगानिस्तानले सबै सम्बन्धित पक्षसँग युक्रेनमा बस्ने अफगानी नागरिकलाई प्रवासीको जीवन रक्षामा पनि ध्यान दिन अपिल गरेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन अघि युक्रेनका पृथकतावादीको नियन्त्रणमा भएका दुई इलाकालाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दिएका थिए र त्यसपछि पूर्वी युक्रेनमा सेना पठाउने निर्णय गरेका थिए ।