१९ फागुन , काठमाडौं । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटले सम्झौताअनुसार चलेको खड्का ल्याण्डलाई खेद्न खोजेको बताएको छ ।
खड्का ल्याण्डका प्रशासकीय अधिकृत भाष्कर कार्कीले बुधबार साँझ एक विज्ञप्ती जारी गरी बुधबार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ‘सार्वजनिक जग्गामा पूर्वराज्यमन्त्री दिपक खड्काको रजाईँ’ शीर्षकको समचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
पूर्वराज्यमन्त्री खड्काले नेपाल सरकारको स्वामित्वमा काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा रहेको नेपाल स्काउटको व्यवसायिक भवन आफ्नो कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबिच टेण्डरमार्फत सम्झौता भई सञ्चालन गर्दै आएको विज्ञप्तीमार्फत उहाँले अवगत गराउनुभएको छ ।
“विस २०७४ सालमा ६ महिनाभित्रमा निर्वाचन गरी निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी तदर्थ समितिको संयोजकमा नियुक्त भएका भण्डारीले निर्वाचन पनि गराउन सकेका छैनन् भने पदपनि छाडेका छैनन्, विगत पाँच वर्षदेखि तदर्थ समितिको संयोजक बनेर स्काउटको चरम दोहन गर्नमै व्यस्त छन्,”– विज्ञप्तीमा भनिएको छ ।
निश्चित समयका लागि खड्का ल्याण्ड प्रालिले सम्झौता गरेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएपनि नेपाल स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि खड्का ल्याण्डले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पु¥याउँदै आएको अधिकृत कार्कीले बताउनुभयो ।
स्काउटका संयोजक भण्डारी एवं निर्देशक भट्टराई विभिन्न प्रलोभन र कमाउ धन्दामा संलग्न रहेको हुनसक्ने भएकाले व्यवसायिक वातवरण विगार्ने खेलमा लागेको खड्का ल्याण्डले बताएको छ । “हिजोको दिनदेखि नै स्काउट वर्तमान नेतृत्वले सुरक्षित व्यवसायिक वातवरण विथोल्ने र स्काउट जस्तो पवित्र सामाजिक संस्थाको छवी नै धमिल्याउँदै छन्। यस्तै, नेकपा एमालेका कार्यकर्तालाई स्काउटको विभिन्न जिल्ला तथा स्थानीय तहको संयोजक बनाएर स्काउटलाई राजनीतिक भर्तिकेन्द्र बनाईँदैछ,”– विज्ञप्तीमा भनिएको छ ।
खड्का ल्याण्डले आफ्नो सम्झौताअनुसार व्यापार व्यवसाय निर्वाध ढंगले सञ्चालन गर्ने र राज्यलाई नोक्सान हुने कार्य आफूबाट कहिलेपनि नहुने प्रष्ट पारेको छ । यस्तै स्काउटलाई सामाजिक सेवाको क्षेत्र बनाउनका लागि देशभरका स्काउटलाई खड्का ल्याण्डले आग्रह समेत गरेको छ ।



