२६ फागुन , काठमाडौ । सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’ हटाइएको हो ।
श्रम डेस्कमा लागेको लाइन(फाइल तस्वीर)
वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अनलाइनबाट सम्पन्न भइसक्दा पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा रहेको श्रम डेस्कमा घन्टौँसम्म लामबद्ध भएर सहीछाप लगाउनुपर्ने, त्यहाँस्थित कर्मचारीबाट दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो संरचना खारेज गरेको हो ।
सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो सर्वत्र आएपछि सरकारले सो संरचनालाई हटाउने यसअघिको निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।
सरकारले वैदेशिक रोजगारलाई पूर्णतः अनलाइन बनाउन विसं २०७५ देखि अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा ल्याएको छ । फेमिस कार्यान्वयनमा आएसँगै मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृतिसम्मका काम अनलाइनबाटै सम्पन्न हुँदै आएका छन् ।
डेस्क हटेसँगै वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टिकर परीक्षणका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेल वैदेशिक रोजगारीमा जाने श्रमिकको आत्मसम्मान र सुविधाको खातिर विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको बताए ।
विमानस्थलमा श्रमिकका लागि यसअघि अर्को दर्जाका नागरिक जसरी सीमित गेटबाट प्रवेश दिने गरिएकामा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।
विमानस्थलमा हाल तीनवटा प्रवेशद्वार रहेको छ । ‘श्रम डेस्कमा जानैपर्ने बाध्यताले गर्दा वैदेशिक रोजगारमा जाने श्रमिकले १ नं गेटमात्र प्रयोग गर्नुपर्ने र त्यो गेटमा अत्यधिक भीडभाड हुने अवस्था अन्त्य भएको छ’, उनले भने ।
यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्यरूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढ्थ्यो ।
सम्पूर्ण तयारी सकेर श्रम डेस्क हटाउने निर्णयमाथि श्रम मन्त्रालयका तत्कालीन सचिवले स्वीकृति नदिँदा सो विषय अगाडि बढ्न सकेको थिएन ।


