२९ फागुन , काठमाडौ । पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएपछि बजारमा ग्यास आपूर्तिमा चाप परेको छ । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।
आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका हुन् । जसकारण ग्यास आपूर्तिमै चाप परेको हो ।
व्यवसायीले माग पूरा नभए चैत ५ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
उनीहरूले पेट्रोल र डिजेलको मूल्य बढ्दा ढुवानी लागत बढेको र सोहीअनुसार ढुवानी भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका छन् । यो माग पूरा नभए सरकार र नेपाल आयल निगमलाई जसरी पनि घुँडा टेकाउने उनीहरूको दाबी छ । चेतावनीपछि उपभोक्ताको घर–घरमा रहेका ग्यासका खाली सिलिन्डर बजारमा आउन थालेको छ । जसले समग्र बजारको ग्यास आपूर्तिलाई नै दबाब दिइरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले बताए ।
उनले भने, ‘उपभोक्ता आफ्नो घरमा राखेका खाली सिलिन्डर भर्नतर्फ लागेका छन् । एलपी ग्यास उद्योग संघका अनुसार नेपालमा दैनिक सरदर १ लाख सिलिन्डिर ग्यास खपत हुने गरेको छ । यस हिसाबले मासिक औषतमा ३० लाख सिलिन्डर ग्यास खपत हुने गर्छ । तर, बजारमा ग्यास उद्योगका डेढ करोडभन्दा बढी सिलिन्डर छरिएर रहेको संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले बताए । बजारमा छरिएर रहेको सबै ग्यास सिलिन्डर आएमा माग र आपूर्ति श्रृङ्खलामा थप समस्या हुने उनी स्वीकार्छन् ।
यहीकारण बजारमा पेट्रोलियम पदार्थसँगै खाना पकाउने एलपी ग्यासको अभाव हुने हल्ला चलेको छ । सोही हल्लाअनुसार उपभोक्ता आफूसँग अतिरिक्त ग्यास भण्डारण गर्नतर्फ लागेका हुन् । यसै पनि वि।सं। २०७२ सालमा भारतीय नाकाबन्दी झेलेपछि उपभोक्ताले अतिरिक्त सिलिन्डर राख्न थालेका छन् ।






