१५ चैत , काठमाडौं । नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले यस्तो प्रस्ताव गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको हो ।
अहिले देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्न सकिने विषयमा आफूहरुले सिफारिस गरेको उनले बताए ।
अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी यातायातका साधनमा जोर विजोर लागू गर्न पनि सिफारिस गरेको उनले बताए । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।
इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ ।


