१८ चैत , काठमाडौं । काठमाडौँ उपत्यकामा खटिने ट्राफिक प्रहरीले डिउटीको समयमा डायरी र कलम अनिवार्य रूपमा साथमा बोक्नु पर्ने भएको छ ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायी अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एक कार्यक्रमकाबीच काठमाडौँ उपत्यकामा कार्यरत झन्डै १ हजार ६०० जना ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् ।
ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामग्री वितरण गरिएको एसएसपी जोशीले बताए । डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।



