२५ चैत , काठमाडौं । मोरङको उर्लाबारीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–४ आइतबारेमा गएराती भएको दुर्घटनामा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय राजन धिमालको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धिमालले चलाएको को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भ्यानले राति ८:४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९:२५ बजे मृत्यु भएको हो ।


