१६ वैशाख , काठमाडौ । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो ।
‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुयाउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ,’ आयोगले भनेको छ ।
‘त्यसैगरी कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानुनको प्रयोग र पालनामा इमान्दार हुन सबैलाई आयोगले अनुरोध गरेको छ ।
‘राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचार संहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा नदोहो¥याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।







