२६ बैशाख , काठमाडौं । आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि, जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालि र सदीक्षा गुरुङविरुद्ध बिगो र हर्जानासहित ७ करोड १७ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर गरिएको हो । सबैभन्दा बढी ठगी जिनियसबाट भएको छ । उसले पोर्चुगल, स्पेन र फ्रान्ससहित युरोपका विभिन्न देश जाने २२ जना व्यक्तिसँग दुई करोड ८८ लाख ४१ हजार रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । त्यसमा थप एक करोड ४३ लाख रुपैयाँ हर्जाना लगाएर चार करोड ७ लाख २३ हजार रुपैयाँको मुद्दा दायरा गरिएको छ ।
यस मुद्दामा विभागले जिनियसका सञ्चालक बुटवलका सुजन भट्टराई, नयाँ बसपार्कमा होटल सञ्चालन गरी बस्ने काठमाडौं टोखाका ५० वर्षीय मेखबहादुर गुरुङ र ठेगाना नखुलेका सुनील लम्सालविरुद्ध मुद्दा दायरा गरेको छ । सञ्चालक भट्टराई भने छानबिनका लागि थुनामा छन् । उनीहरूले प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँसम्म लिएका छन् । ‘हामीलाई पोर्चुगलको कृषिमा ६ सय युरो तलब पाइन्छ भनेर पठाउँछु भन्यो । त्यसका लागि १६ लाख रुपैयाँ खर्च लाग्छ भन्यो । पोर्चुगल पठाउन भारत लगेर राखिएको थियो,’ जिनियसबाट ठगिएका लमजुङका महेशकुमार शाहीले भने, ‘त्यसका लागि मैले मात्रै १५ लाख ५० हजार रुपैयाँ बुझाएँ ।’माल्टा पठाउने भन्दै १ सय २२ जना व्यक्तिसँग एक करोड ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिसविरुद्ध पनि मुद्दा दायरा भएको छ । त्यसमा विभागले प्रतिवादीबाट हर्जानाबापत थप ८२ लाख रुपैयाँ असुल्नुपर्ने दाबी गरेको छ ।



