१३ जेठ , काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्थापनमा उत्कृष्ट कार्यशैली प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापा, डिएसपी सुन्दर तिवारी र बैदामका डिएसपी युवराज भण्डारी पुरस्कृत भएका छन् ।


स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको कास्की कुनै अप्रिय घटना नभएको शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको भन्दै कास्की जिल्लाका प्रहरी प्रमुख एसपी र डिएसपीलाई उक्त कार्यकाे श्रेय दिदै पुरस्कृत गरिएको हाे ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले कास्की प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, युवराज भण्डारीलाई नगद सहित प्रसंसा पत्रले सम्मान गरेका हुन । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखले निर्वाचन अघि नै सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक तयारी गरेका थिए ।
चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि कास्कीमा कुनै अप्रिय घटना हुन पाएन । यहि अवस्थाकाे मूल्यांकन गर्दै अब्बल सुरक्षा अधिकारी एसपी र डिएसपीलाई प्रशंसापत्र तथा नगदले पुरस्कृत गरेको हाे । आफ्नो जिम्मेवारी इमानदारी र उत्कृष्ण ढंगले कार्यसम्पादन गरेको पाइएकाले उनीहरुलाई नगदबाट पुरस्कृत गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कार्यालय कास्कीले जनाएको छ ।




