१८ जेठ , काठमाडौं । सशस्त्र प्रहरी बलमा सदाझैं उच्च तहको बढुवामा यसपटक पनि झमेला देखिएको छ । कतिसम्म भने एसएसपी बढुवाको सूचना प्रकाशन गरी केही घन्टामै गायब गरिएको छ ।
सशस्त्र प्रहरी बलले गत साता एसएसपी बढुवाका लागि सूचना प्रकाशित गरेको थियो । सशस्त्र प्रहरीमा एसएसपीको दरबन्दी रिक्त छैन । हाल कामु भएकालाई नै कन्फर्म गर्न सूचना निकालिएको थियो । तर, बालुवाटारको एक फोनले त्यससम्बन्धि सूचना हराएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।
कामुलाई कन्फर्म गर्दा कामु हुँदाकै बरियताअनुसार गर्ने चलन छ । तर, सशस्त्रका केही पावरफुल कामु एसएसपी आफु अगाडि बढुवा हुने दाउमा लागेका छन् । उनीहरुकै चलखेलले सूचना मात्र हटेन बढुवा प्रक्रिया समेत अनिश्चित बनेको छ । जसको असर सशस्त्र प्रहरीका सयौं अधिकृतको करिअरमा परेको छ ।
यसरी चलखेल गर्नेमध्ये एक कामु एसएसपी दिपेन्द्र कुँवर हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका ज्वाई उनी आफ्नो मात्र होइन अघिल्लो ब्याचलाई समेत उछिनेर डिआइजी बन्ने दौडधुपमा छन् । त्यहीकारण उनले नै बढुवा रोकाएको स्रोत बताउँछ । एक व्यक्तिका लागि प्रधानमन्त्री पदको दुरुपयोग समेत भएको छ । सशस्त्रमा अहिलेदेखि नै भावी नेतृत्व चयनको संघर्षले एसएसपी बढुवा अन्योलमा परेको हो ।
कार्यक्षमतामा कमजोर रहेका एसएसपी कुँवर स्टाफ कलेजको प्रवेश परीक्षामा पटक पटक फेल भएपछि कानूनविपरीत नेपाली सेनामा लगेर स्टाफ कलेज गराइएको थियो । उनै कुँवरका कारण सशस्त्रमा बढुवा अस्तव्यस्त हुन पुगेको छ । सिंस २ का एसएसपी कुँवर आफ्नो ब्याचमा ११ औं नम्बरमा छन् ।
सशस्त्रमा हाल डिआइजीका तीन पद रिक्त छन् । त्यसमा एसएसपी कृष्णराज पाठक बाहेक अन्य उम्मेदवार नै छैनन् । एसपी भएको चार वर्षपछि मात्र एसएसपीमा बढुवा हुने प्रावधान छ । तर, चार वर्ष नपुगेका कारण धेरै जसा कामु एसएसपी छन् ।





