२३ जेठ , काठमाडौं । काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि मोटरसाइकल दुर्घटना गराएर भागेका चालकलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । २०७८ चैत २० मा बा.१२ च.५६२ नम्बरको हात्ती गाडीको ठक्करबाट मोटरसाइकल चालक लक्ष्मी दर्नालको मृत्यु भएको थियो । सो गाडीका चालक कमलप्रसाद गौतमलाई जिल्ला अदालत काठमाडौंले पहिलोपटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
रामेछापको दोरम्बा घर भएका आरोपीलाई दुई महिनापछि प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको थियो । आरोपीलाई जिल्ला अदालत काठमाडौंले पहिलोपटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
चैत २० मा गौतमले चलाएको हात्तिगाडीले ठक्कर दिँदा गम्भिर घाइते भएकी नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएकी २५ वर्षीया लक्ष्मी दर्नालको उपचारको क्रममा मृत्यु भयो । डिभाइडरमा ठोक्किएर दुर्घटना भएको भनिएको सो घटनामा पोष्टमार्टम रिपोर्टको क्लूको आधारमा प्रहरी हात्तिगाडीको चालकसम्म पुग्न सफल भएको थियो ।
दुर्घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो दुर्घटनाबारे प्रहरीले गरेको अनुसन्धानले राम्रो नतिजा दिएको बताए । उनले भने–‘सामान्य दुर्घटना भनी चुप लागेर बसेको भए आज पीडित परिवारले न्याय र क्षतिपूर्ति पाउने सम्भावना पनि नरहन सक्थ्यो । तर, प्रहरी त्यसै चुप लागेर बसेन र यसको सफल अनुसन्धान गरी दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिन सफल भएको छ ।’


