‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा -
Comments Add Comment

‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा

१ असार , काठमाडौं । ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र प्लाकार्ड बोकेर आन्दोलनमा उत्रेका छन् ।

यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अवस्थामा पुगेका हुन् । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलागेको किसानहरूले बताएका छन् ।

किसानहरुले मंगलबार सरकारलाई चाँडो भन्दा चाँडो मल उपलब्ध गराउन माग गर्दै अत्तरिया बजारमा आधा घण्टा चक्काजाम गरेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया र अन्य सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा किसानले मलखानको व्यवस्था गर्न र २०७८ कार्तिकमा प्राकृतिक विपत्तिबाट भएको क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भविष्य किसानविना सम्भव छैन’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

कृषि उपज थोक बजार अत्तरिया अध्यक्ष नन्दलाल भट्टले अहिलेको सरकार किसानप्रति उत्तरदायी नभएको बताए । उनले अहिले किसान मल नपाएर निकै मर्माहित भएको बताए ।

‘थिचोमिचोमा परेका किसान अब चुप लागेर बस्दैनन् । अब तुरुन्तै मलको व्यवस्थापन नगरिएको खण्डमा अब कडा आन्दोलन गर्न वाध्य हुनेछौँ,’ उनले भने ‘अब कैलाली कञ्चनपुरका मात्रै नभएर समग्र सुदूरपश्चिमका किसान मल नपाए सडकमा उत्रिन वाध्य हुनेछन् ।’

उनले सरकारले ७ दिनभित्र मलको व्यवस्थापन नगरे अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलनमा सहभागी कञ्चनपुरका किसान पतिराम चौधरीले अहिले मल नहुँदा खेती गर्न निकै समस्या भएको बताए । उनले मलको समस्या सामाधानका लागि सरकारले जसरी भए पनि सुनुवाइ गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै