२२ असोज , काठमाडौ । नेकपा एमालेले मुख्यमन्त्रीको दाबेदारको टिकट खोसेको छ । मेयरका दुई दाबेदारलाई भने एमालेले प्रदेश सांसदको टिकट दिएको छ ।
प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्दै आएका जीवन घिमिरेको टिकट एमालेले खोसिएको हो । उनी मोरङ क्षेत्र नम्बर ४ को ‘ख’ बाट उम्मेद्वार सिफारिस भएका थिए । १० बुँदे पक्षधरका नेता घिमिरे सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनी शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए ।
घिमिरेले मुख्यमन्त्रीको दाबीसहित चुनावी गतिविधि सञ्चालन गरिरहेका थिए । तर नेकपा एमालेले गठबन्धन गर्दा घिमिरेको क्षेत्र जसपालाई दिएको छ । जसपाले सञ्जय सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताए । ‘हामीले मोरङमा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा तीन वटा क्षेत्र पाएका छौं,’ यादवले भने, ‘हाम्रो पार्टीले उम्मेदवारको टुङ्गो पनि लगायो ।’
क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि जिल्ला अध्यक्ष यादवले नै टिकट पाएका छन् । ५ को ‘ख’ मा जयराम यादव, ४ को ‘ख’ मा सञ्जय सिंह र ६ को ‘ख’ मा राजेन्द्रप्रसाद गुप्ताले टिकट पाएको उनले बताए ।
मोरङको टोली काठमाडौंमा
जीवन घिमिरेको टिकट खोसिएपछि नेकपा एमाले मोरङको टोली काठमाडौं पुगेको छ । क्षेत्र नम्बर ४ ‘ख’ एमालेले नै राख्नुपर्ने मागसहित एमाले नेताहरु काठमाडौं पुगेका हुन् ।
‘क्षेत्र नम्बर ४ ख मा जसपाको जनाधार छैन, केन्द्रबाट हचुवाका भरमा निर्णय भएका कारण एउटा टोली काठमाडौं गएको छ,’ एमाले मोरङका एक नेताले अनलाइनखबरसँग भने, ‘आज बेलुकासम्म केही सकारात्मक सन्देश आउला ।’
काठमाडौं पुगेको टोलीले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेको छ ।
मेयरका दाबेदार प्रदेशसभा तर्फको उम्मेदवार
नेकपा एमालेले मोरङमा मेयरको दाबेदार किशोर राई र ज्ञानेन्द्र सुवेदीलाई प्रदेश सांसदको टिकट दिएको छ । पथरी शनिश्चरे नगरपालिकाकाका पूर्व मेयर राई र बेलबारी नगरपालिकाका पूर्व मेयर सुवेदी १० बुँदे पक्षधर हुन् । दुवै नेता मेयरमा दोहोरिन चाहेका थिए ।
बैशाख ३० को स्थानीय तह निर्वाचनमा सुवेदी र राईको दाबीका कारण एमालेले अन्तिम समयमा मात्रै पथरी शनिश्चरेमा मोहन तुम्बापो र बेलबारीमा दिलप्रसाद राईलाई टिकट दिएको थियो । दुवै जना मेयरमा निर्वाचित पनि भए ।
मंसिर ४ गते हुने निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३ को ‘क’ बाट राई र ‘ख’बाट सुवेदीलाई टिकट दिएको छ । प्रतिनिधिसभा तर्फ भानुभक्त ढकालले टिकट पाएका छन् ।



