६ असार , काठमाडौं । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।
एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ । आफूहरूले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ । विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन् ।
कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए। कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उनले बताए। वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ ।
भरतपुर महानगरमा व्यावसायिकीकरण कुरिलो खेती आफूले मात्रै गरेको बताउँदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए। उनले भने, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उनले गुनासो गरे। अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा बिचौलिया नियन्त्रण हुन सके राम्रो मुनाफा हुने उनले जानकारी दिए। आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए। उनले भने, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”


