७ असार , काठमाडौं । तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका छन् ।
‘सर्पले टोकेका विरामीको संख्या दैनिक ५-६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भने, ‘तीमध्ये २-३ जना धेरै विषालु सर्पले टोकेका विरामी अउने गरेका छन् ।’
उनले मानिसको लापरवाहीका कारण सर्पदंशका विरामी बढ्ने गरेको बताए । रातिमा होसियारी नअपनाई हिँड्डुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण सर्पदंशका विरामी बढ्ने गरेको उनले बताए । ‘तराईका बढी विषालु सर्प गोमन र करेत हुन्,’ कमरले भने, ‘ती सर्प सुख्खा ठाउँमा बस्न रुचाउँछन्, करेत ओच्छ्यानमै पनि लुकेर बसेको हुन्छ, राति सुत्दा राम्ररी नहेरेर सुत्ने बानीले ओच्छ्यानमै सर्पले टोक्ने गरेको भेटिएको छ ।’ सुतेको वेला करेत सर्पले टोकेको थाहा नपाएरै कतिपय विरामीको मृत्यु हुने गरेको कमर बताउँछन् ।
सुतेको वेला करेत सर्पले टोकेको थाहा हुँदैन । कमरका अनुसार करेतले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्षण भए पनि ज्वरो आउँदैन । ‘सर्पले टोकेको थाहा नपाउने धेरैले ग्यास्ट्रिक भएको भन्दै सामान्य औषधि खाने गरेका छन् । धेरै स्वास्थ्यकर्मीले सर्पले टोकेको पनि हाथा पाउँदैनन्,’ कमरले भने, ‘सेती अस्पतालमा कार्यरत पुराना स्वास्थ्यकर्मीले त्यस्ता विरामी पत्ता लगाउन सक्छन् । यदि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिए विरामीले तुरुन्त सेती अस्पतालको इमरजेन्सीमा आएर देखाउँदा राम्रो हुन्छ ।’
करेत सर्पले टोकेका विरामी ४-५ घन्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने उनले बताए । कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन् । जस्ले नशामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ ।






