८ असार , काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारले चढ्ने गाउँपालिकाको गाडी उनकै छोराले तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्दै आएको गाडी तोडफोड गरिदिएका हुन् ।
गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरिएको छ । मंगलबार बजेट निर्माणलगायत विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद भएको थियो । तर बैठकको अन्तमा एमालेका केही वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए ।
एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति जनाउँदै गाडी तोडफोड गरेको बताइएको छ ।
अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएका थिए । अध्यक्ष गच्छदारले पनि छोराले नै गाडीको सिसा फुटाएको स्वीकार गरेका छन् । उनले जोसुकैले गाडी फुटाए पनि कारबाही गर्ने बताएका छन् ।
उनले भने, ‘गाउँपालिकाका सबै मेरा लागि छोराछोरी जस्तै हुन्, मैले सबैलाई समान व्यवहार गर्नुपर्छ । अहिले उपाध्यक्ष वडाध्यक्षहरूसँग छलफल गरेर के कारबाही गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौँ ।’






