घरि घरि आखाँहरूसँग दृष्टि सापट लिन्छु
जबर्जस्ती संसारमा आकार खोजिरहन्छु
नितान्त आफ्नैलागि सीमाना बनाईरहन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि कानहरूसँग श्रवण सापट लिन्छु
आफ्नै मग्नताको आभाष खोजी हिडछु
नितान्त आफ्नैलागि कामना बनाईरहन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि मुखसँग आवाज सापट लिन्छु
परिलक्षित शब्दहरू मनलाग्दी छरिदिन्छु
नितान्त आफ्नैलागि स्वरहरू बनाईरहन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि मनसँग खुशी सापट लिन्छु
आफ्नै आफ्नाहरूमा लतपत बाडिदिन्छु
आफुलाई दुखहरूमा बानी बनाईदिन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि पाईलाहरूसँगअनुराग सापट लिन्छु
आफ्नै लक्ष्यहरूलाई शुन्यतामा हिडाईदिन्छु
आफु स्वयंलाई महाशुन्यतामा डोन्याईदिन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि बिचारहरूसँग प्रेम सापट लिन्छु
आफ्नै स्वार्थहरूमा बेस्कन कुदाईदिन्छु
अनि जीवनभरको आधारशिला बनाईदिन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु
घरि घरि समयसँग जीवन सापट लिन्छु
आफ्नो अनेकौं अस्तित्व माथि प्रश्न गर्छु
अनि निर्जिवतामा जीवनको अभिनय गर्छु
समयसँग आफैलाई मरेतुल्य गरिदिन्छु
सीमिततालाई हरपल समयसँग खोजीरहन्छु


