१० असार , काठमाडौं । पाँच दलीय गठबन्धनको सरकार बनेसँगै दैनिक उपभोग्य सामाग्री तथा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ भक्तपुरले मसाल जुलुस प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा आज जिल्लाको सूर्यविनायकमा युवा संघले मसाल जुलुश प्रदर्शन गरेको हो । एमाले जिल्ला पार्टी कार्यालयबाट शुरु भएको जुलुस आसपासका क्षेत्रहरुमा लगाईएको छ । जुलुसका क्रममा सडक अवरुद्ध समेत गरेको छ । एमाले निकट २२ जनसंगठनहरुले मूल्यवृद्धिको विरुद्धमा देशैभर विरोध प्रदर्शन गरिरहेका छन् । सोही क्रममा युवा संघले आज भक्तपुरमा प्रदर्शन गरेको हो ।
जुलुसमा संघका नेता तथा कार्यकर्ताहरुले सरकारविरुद्ध विभिन्न प्रकारका नाराहरु लगाएका थिए । संघका र्कायकर्ताले यस पालिको हैजा, शेरे तँलाई लैजा, मुल्यवृद्धि फिर्ता गर, आर्यघाटले के भन्छ ? शेरे तँलाई ले भन्छ, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, जनतामारा सरकार मुर्दावादलगायतका नाराहरु लगाउँदै सरकारको विरोध गरेका थिए ।
सरकारले केही दिन अघि पेट्रोलको मूल्य रु २०, डिजेल र मट्टीतेलको २७ रुपैंयाले मूल्यवृद्धि गरेको थियो । यो सँगै पेट्रोलको मूल्य १९९, डिजेल र मट्टीतेलको १८२ पुगेको छ ।


