१२ असार , काठमाडौं । थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो ।
नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, जो नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन् जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन्, काठमाडौँमा आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ ।
साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट गर्न लागेको भने हैन । सन् २०१३ (बि सं २०७०) मा थिएटर भिलेजले यसै नाटक मार्फत शताब्दिपुरुष श्री सत्यमोहन जोशीको सम्मानमा उहाँको नामबाट ‘सत्यमोहन जोशी नाटकघर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो ।
हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।
धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन् । उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठुलो धोको थियो । तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उहाँ बितेपछि आफ्नो मनमा गहिरो चोट बसेको उनी बताउँछन् । ‘नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियता लैजाने आफ्नो उद्देश्य अनुरूप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ’ उनी स्मरण गर्छन् ।



