३० असार , काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ ।
अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’ व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको बताए ।
प्रहरी संगठनको शान,गर्व र गौरव बढाउन आफू लागिपरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्ति विकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माण लगायतका उपलब्धी हासिल भएको बताउनुभयो । यस्तो वातावरण र काम गर्ने अवसरको सदुपयोग गर्न परिस्थिति आफैं बनाउँदै दृढ इच्छाका साथ राम्रो काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘व्यक्तिगत रुपमा आफूले आफैंलाई संयमित राख्नुस् ।’
समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताउनुभयो । यसका लागि सबैले आ-आफ्नो घर, छिमेक, टोल, क्षेत्र, समाजमा सर्वत्र अभियानको रुपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
समुदाय राम्रो भएमा अपराध नहुने, असल नागरिक बन्ने र समुदायले प्रहरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउने कुराको मनन गरी सक्रिय रुपमा कार्यक्रमलाई योगदान दिनुपर्नेमा जोड दिनुभएको छ ।





