Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै : डिआईजी मीरा चौधरी

२ श्रावण , काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको प्रमुखका रूपमा कमान्ड सम्हाले दुई साता पुग्दै छ ।

उनले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने बताएकी छन् । ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङ स्थलमा जोड दिएको उनको भनाइ छ । “उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका मेयरसँग सल्लाह हुँदै छ,” उनले भनिन् । डीआईजी चौधरीले सार्वजनिक सवारीको भाडादर अनुगमन, यात्रु सहायता, बसपार्कजस्ता समस्या समाधानका लागि यातायात व्यवसायीसँग निरन्तर छलफल जारी रहेको बताइन् ।

“सार्वजनिक यातायात क्षेत्रमा यात्रुहरू ठगिने, दुर्व्यवहार हुनेजस्ता समस्याहरू समाधान गर्न सकिन्छ । विभिन्न निकायको समन्वयमा काम गर्दै जाने हो,” उनले भनिन् ।  पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सडकमा लेन अनुशासन, हर्न निषेधलाई थप कडाइ र सीसीटीभी निगरानी गर्ने चौधरीका योजना छ ।

“म आएको आज १३ दिन भयो । यो समयावधि सरोकारवाला निकायसँगको छलफलमै बितेको छ,” उनले भनिन्, “ट्राफिक लाइट, सीसीटीभी, ट्राफिक सहायता कक्ष, लेन सुधार, पार्किङ व्यवस्थापन, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन जस्ता समस्याहरू समाधान गर्ने योजना छन् ।”

ट्राफिक अधिकारीहरूले विदेशमा अन्डरपास र फ्लाइओभरको व्यवस्थाले जाम कम गरेको बताएका छन् । महाशाखाले ट्राफिकको व्यवहार सुधारका लागि दैनिक ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार र अनुशासन सिकाइरहेको छ । महाशाखाले एक वर्षको समयावधिमा रातो बत्ती, लेन, मापसे, पैदलयात्रु, चालक सहचालक, बस, ट्याक्सी, सर्वसाधारण गरी एकलाख ८० हजार ३३७ जनालाई सचेतना कक्षा दिएको छ ।

मेट्रोबाट प्राप्त भएका सीसीटीभी फुटेजका आधारमा एकहजार २०३ र मेट्रो सीसीटीभीबाट फिल्डमा सातहजार ४५३ जनालाई कारबाही गरिएको छ । भाडामा ठगी तथा अनियमितताविरुद्ध चेकजाँचका क्रममा १० हजार २९५ सवारी साधनलाई कारबाही गरिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए ।

ट्राफिक सचेतनालगायत कार्यक्रम गर्नका लागि विभिन्न १५ वटा निकायसँग समन्वय भइरहेको महाशाखाले जनाएको छ । डीआईजी चौधरीले हराएर भेटाइएका र कारवाहीमा परेका गरी कुल २००० सवारी साधन महाशाखामा रहेको र धनीले लिन आउन पनि आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment